काठमाडौँ : हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा शुक्रबार कम्पनीको दर्ता कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण) लगायतका वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्ता पूँजीको ८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय पनि गरिएको छ ।
त्यसैगरी, साधारण सभाले आ.व. २०८२/८३ का लागि कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम एम.बी. श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुशिल जोशीले कम्पनीले छोटो अवधिमा हासिल गरेका उपलब्धि तथा भविष्यका रणनीति प्रस्तुत गर्दै, धितोपत्र दलाल सेवामा अनुपालना, सुशासन र आधुनिक प्रविधिको प्रयोगमार्फत सर्वसुलभ सेवा विस्तार गर्दै नेपालको अग्रणी कम्पनीका रूपमा स्थापित हुने लक्ष्य रहेको जानकारी दिनुभयो ।