महामन्त्री प्रदीप पौडेल..
जेष्ठ २७,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेल ले क्रियाशील सदस्यता अद्यावधिक गर्न अब एक दिन मात्र बाँकी रहेको भन्दै निर्धारित समयसीमाभित्र प्रक्रिया पूरा गर्न सम्पूर्ण पार्टी सदस्यहरूलाई आग्रह गरेका छन्।
बुधबार जारी गरिएको विज्ञप्तिमा उनले क्रियाशील सदस्यता अद्यावधिकको अन्तिम समय २८ जेठ राति १२ बजे सम्म रहेको जानकारी गराउँदै ढिलाइ नगर्न सदस्यहरूलाई अनुरोध गरेका छन्।
पार्टीको तथ्यांकअनुसार अद्यावधिकका लागि योग्य ७ लाख ८२ हजार २०९ सदस्यमध्ये हालसम्म ४ लाख ५७ हजार ३६६ जनाले एनसी आईडी (NC ID) प्राप्त गरिसकेका छन्। त्यस्तै १ लाख २४ हजार ७४८ सदस्यले स्वयं अद्यावधिक फारम भरेर प्रक्रियामा सहभागिता जनाइसकेका छन्।
महामन्त्री पौडेलले समयसीमा सकिनुअघि बाँकी सदस्यहरूले पनि आवश्यक प्रक्रिया पूरा गरी पार्टीको संगठनात्मक सुदृढीकरणमा योगदान दिनुपर्ने बताएका छन्। कांग्रेसले आगामी महाधिवेशन तथा संगठन विस्तारलाई लक्षित गर्दै डिजिटल प्रणालीमार्फत सदस्यता व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अभियान अघि बढाएको जनाएको छ।
राजनीतिक वृत्तमा कांग्रेसको सदस्यता अद्यावधिक अभियानलाई आगामी पार्टी संरचना र नेतृत्व चयनसँग जोडेर समेत हेरिएको छ। त्यसैले अन्तिम समयमा सदस्यहरूको चाप बढ्ने अनुमान गरिएको छ।
🗳️ कांग्रेस सदस्यहरूका लागि महत्वपूर्ण सूचना : क्रियाशील सदस्यता अद्यावधिकको समय अब समाप्त हुन लागेकाले आजै प्रक्रिया पूरा गर्नुहोस्।






