काठमाडौँ, १० असोज । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ३९ प्रतिशत उत्तीर्ण (पास) भएका छन् ।
.jpg)
काउन्सिलले गत बुधबार र बिहीबार ७३ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा लिएको थियो ।
काउन्सिल रजिष्ट्रार डा. सतीशकुमार देवले परीक्षामा एमबीबीएस र बीडीएसमा गरी कुल सहभागिता १ हजार ७७ जना भए पनि जम्मा ४२१ जना (३९.०९ प्रतिशत) मात्रै उत्तीर्ण भएको जानकारी दिनुभयो ।
त्यसमा सबैभन्दा कम बीडीएस तर्फ जम्मा १८.६२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
रजिष्ट्रार डा. देवका अनुसार यसपटक परीक्षाका लागि एमबीबीएस र बीडीएस गरी कुल १ हजार १०३ जनाले फारम भरेककोमा २६ जना परीक्षामा अनुपस्थित थिए ।
एमबीबीएसमा कुल ९१५ जनाले फारम भरेकोमा परीक्षाका बेला २१ जना अनुपस्थित थिए । एमबीबीएस तर्फको लाइसेन्स परीक्षामा ८९४ जनाले परीक्षामा सहभागिता जनाएकोमा ३८६ जना ( ४२.१९ प्रतिशत) मात्रै पास भएका छन् । परीक्षामा दिएका मध्ये ठूलो संख्या अर्थात ५०८ जना (५७.८१ प्रतिशत) फेल भएका छन् ।
यस्तै बीडीएस तर्फ १८८ जनाले फारम भरे पनि परीक्षाका बेला ५ जना अनुपस्थित थिए । कुल १८३ जना सहभागी भएकोमा जम्मा ३५ जना (१८.६२ प्रतिशत) मात्रै उत्तीर्ण हुन सफल भए । परीक्षा दिएका मध्ये १४८ जना (८१.३८ प्रतिशत) फेल भएका छन् ।






