रियल खबर अनलाईन | माघ ४, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले वैधता दिएसँगै पूर्वसभापति शेरबहादुर देउवा पक्षभित्र गम्भीर मतभेद र रणनीतिक अन्योल देखिन थालेको छ। आयोगको निर्णयपछि देउवा निकट नेताहरू अब अदालत जाने तयारीमा जुटेको स्रोतले जनाएको छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि देउवा पक्ष ‘कतै नबिक्ने’ अवस्थामा पुगेको विश्लेषण पार्टीभित्रै हुन थालेको छ। यसै कारण देउवा निकट नेताहरूले अन्तिम विकल्पका रूपमा न्यायिक बाटो अपनाउने रणनीति बनाएको बुझिएको छ।
देउवा पक्षभित्र अहिले दुई फरक धारणा प्रकट भएका छन्। एक समूहले अब पार्टीको मूल धारमै फर्किएर राजनीतिक सक्रियता निरन्तरता दिनुपर्ने मत राखेको छ भने अर्को समूहले निर्वाचन प्रक्रियामा भाग नलिई निष्क्रिय बस्ने वा कानुनी लडाइँमार्फत निर्णय उल्ट्याउने विकल्प अघि सारेको छ।
पार्टीका एक देउवा निकट नेताका अनुसार निर्वाचन आयोगको निर्णयले पार्टीको आन्तरिक लोकतन्त्र र विगतको नेतृत्वको निरन्तरतामाथि प्रश्न उठाएको दाबी गर्दै अदालतबाट न्याय खोज्नु अपरिहार्य भएको धारणा बलियो बन्दै गएको छ। यसका लागि देउवा स्वयंलाई नै अघि सारेर मुद्दा दायर गर्ने तयारी भइरहेको बताइएको छ।
यस घटनाक्रमले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अझ गहिरिँदै गएको संकेत गरेको छ। आगामी दिनमा देउवा पक्षले कस्तो कानुनी र राजनीतिक कदम चाल्छ भन्ने विषयले पार्टीको भविष्य र राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने देखिन्छ।






