रियल खबर अनलाईन फागुन २५, काठमाडौँ ।प्रतिनिधिसभा समानुपातिक निर्वाचनतर्फ देशभरका विभिन्न मतगणना केन्द्रहरूमा मतगणना तीव्र रूपमा जारी रहेको छ। हालसम्म विभिन्न मतगणना स्थलबाट निर्वाचन प्रणालीमा प्रविष्ट गरिएको विवरणका आधारमा दलगत मतपरिणाम सार्वजनिक गरिएको छ।
प्राप्त प्रारम्भिक तथा एकीकृत विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ। उक्त पार्टीले हालसम्म ३७,००,०८४ मत प्राप्त गरेको छ। त्यसपछि नेपाली काँग्रेस दोस्रो स्थानमा रहँदै १२,४९,६४९ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) तेस्रो स्थानमा रहँदै १०,५८,४७७ मत प्राप्त गरेको देखिएको छ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ५,४३,८०९ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले २,६०,५४८ मत प्राप्त गर्दै आफ्नो उपस्थिति देखाएको छ।
यस्तै श्रम संस्कृति पार्टीले २,४९,२७८ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टी, नेपालले १,१२,६१२ मत पाएको छ। त्यसैगरी राष्ट्रिय परिवर्तन पार्टीले १,०३,५७३ मत प्राप्त गरेको विवरणमा उल्लेख गरिएको छ।
निर्वाचन आयोगका अनुसार देशभरका मतगणना स्थलबाट प्राप्त हुने मत विवरण प्रणालीमा प्रविष्ट भइरहेकाले मतपरिणाममा थप परिवर्तन हुन सक्ने सम्भावना रहेको छ। मतगणना सम्पन्न भएपछि मात्र अन्तिम नतिजा सार्वजनिक गरिने आयोगले जनाएको छ।
समानुपातिकतर्फको यो मतपरिणामले देशको राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने विश्लेषकहरूले बताएका छन्। आगामी केही दिनभित्रै पूर्ण मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।






