रियल खबर अनलाईन १६ मंसिर, काठमाडौं । नेपाली कांग्रेस र एमाले महाधिवेशनमा तथा नेकपा सभाहरूमा केन्द्रित भइरहँदा नयाँ दलहरू भने चुनावी मोर्चाबन्दीमा जुटिसकेका छन्, श्रम संस्कृति पार्टीले त चुनावी अभियानलाई तीव्र बनाइसकेको छ ।नयाँ दलहरूले संगठन विस्तार, चुनावी गठबन्धन र सहकार्यलाई प्राथमिकता दिएका छन् भने पुराना दलहरू नेतृत्व परिवर्तन र एकता सभामा केन्द्रित देखिन् छन्।
यसै साल दर्ता भयको उज्यालो नेपाल, राष्ट्रिय परिवर्तन, जनादेश, समुन्नत नेपाल, गतिशील लोकतान्त्रिक, श्रम संस्कृति, प्रगतिशील लोकतान्त्रिक लगायतका दलहरू आ–आफ्नो एजेन्डा र संगठन निर्माणमा सक्रिय छन्।केही दलहरू चुनावी तालमेल र सहकार्यमा जोड दिइरहेका छन् भने केही एक्लै चुनावमा जाने रणनीति बनेर हिडेका छन्। अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालयको नेतृत्व समाली रहेका कुलमान घिसिङको संरक्षकत्वमा उज्यालो नेपाल पार्टी (उनेपा) दर्ता भएको छ । अनुपकुमार उपाध्याय अध्यक्ष रहेको यो दलले संगठन निर्माणसँगै चुनावी तयारी थालेको छ । मन्त्रीबाट हटेपछि उनेपाको अध्यक्ष बन्ने घिसिङ स्वयं र हालका अध्यक्ष उपाध्यायले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । उपाध्याय पूर्वऊर्जा सचिव हुन् । यो दलमा इन्जिनियरिङ क्षेत्रका व्यक्ति र पूर्वकर्मचारीको बाहुल्यता छ । वातावरणविद् सागर ढकाल, डा. अभिषेकराज सिंहलगायतका अभियन्ता पनि यसमा समावेश छन् ।






