Advertisement
Advertisement
Advertisement

स्टारलिंकलाई नेपालमा किन अवरोध ?

रियल खबर अनलाईन, २१ जेठ, काठमाडौं -विश्वकै धनाढ्य उद्यमी इलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा कम्पनी स्टारलिंक पुनः नेपाल प्रवेशको प्रयासमा सक्रिय देखिएको छ। कम्पनीकी निर्देशक रेबिका हन्टर हाल नेपाल भ्रमणमा रहेकी छन् र उनले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गरी नेपालमा सेवा विस्तारबारे छलफल गरेकी छन्।

तर, स्टारलिंकको नेपाल प्रवेशमा मुख्य अवरोध बनेको छ नेपालको दूरसञ्चार कानुन। हालको कानुनी व्यवस्थाअनुसार दूरसञ्चार तथा इन्टरनेट सेवा क्षेत्रमा विदेशी लगानीकर्ताले अधिकतम ८० प्रतिशत मात्रै स्वामित्व राख्न पाउँछन् भने कम्तीमा २० प्रतिशत हिस्सा नेपाली साझेदारको हुनुपर्छ। स्टारलिंकले भने नेपालमा १०० प्रतिशत स्वामित्वसहित सञ्चालन अनुमति चाहेको बताइएको छ।

भेटका क्रममा हन्टरले नीति तथा कानुनी जटिलताका कारण अनुमति प्राप्त गर्न कठिनाइ भएको बताएकी थिइन्। जवाफमा मन्त्री तिमिल्सिनाले नेपालको कानुन र प्रक्रियाअनुसार आए कुनै अवरोध नरहने स्पष्ट पारेका छन्।

Advertisement

हिमाली तथा दुर्गम भूगोलका कारण नेपालमा स्याटेलाइट इन्टरनेट उपयोगी हुने विज्ञहरूको धारणा रहे पनि स्थानीय इन्टरनेट सेवा प्रदायकहरू भने स्टारलिंकको प्रवेशले बजारमा प्रभाव पार्ने भन्दै सतर्क छन्। यद्यपि, ग्रामीण तथा दुर्गम क्षेत्रमा उच्चगतिको इन्टरनेट विस्तारका लागि स्टारलिंक महत्वपूर्ण विकल्प बन्न सक्ने चर्चा बढिरहेको छ।

अब प्रश्न उठेको छ— नेपालले कानुन परिवर्तन गरेर स्टारलिंकलाई भित्र्याउने कि विद्यमान नियममै अडिग रहने? यही निर्णयले नेपालको डिजिटल भविष्यमा नयाँ मोड ल्याउन सक्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement