रियल खबर अनलाईन २१ पुस, काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा २४ भदौमा देशका विभिन्न कारागारबाट भागेका ४ हजार ५ सय ३० कैदीबन्दी अझै पक्राउ परेका छैनन्। २४ भदौमा केन्द्रीय कारागार सुन्धारा, नख्खु कारागार ललितपुर, झुम्का कारागार सुनसरीसहित २८ कारागार र बालसुधारगृहबाट भागेकामध्ये एक तिहाई कैदीबन्दी अझै फरार छन्।फरारमध्ये १ हजार बढी कैदीबन्दी विदेशी नागरिक हुन्।
प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न कारागार, बन्दी/सुधार गृह तथा अनुसन्धानका क्रममा प्रहरीका हिरासत कक्षहरुबाट १४ हजार ५ सय ५५ कैदीबन्दी र थुनुवा भागेका थिए। त्यसमध्ये १० हजार १३ जना मात्रै पक्राउ परेका छन्। भागेकामध्ये केहीबाहेक अधिकांश विदेशी कैदीबन्दी फरार छन्। यसमध्ये केही आफैं कारागार फर्किएका हुन्। भागेका कैदीबन्दी फिर्ता हुन कारागार व्यवस्थापन विभागले १० असोजमा देशभरका जिल्ला प्रशासनलाई सर्कुलर गर्दै ‘अल्टिमेटम’ नै दिएको थियो। भागेका कैदीबन्दी २० असोजभित्र फिर्ता नआए थप सजायको भागिदार हुने चेतावनी दिएको थियो।






