रियल खबर। ‘४ महिना भइसक्दा हामीले घोषित पुरस्कार पाएका छैनौं । केही प्रक्रिया पनि अगाडि बढेको छ जस्तो लाग्दैन। विश्वकप अगाडि घोषित पुरस्कार आयो भने खेलाडीको मनोबल बढ्छ। खेलाडीहरूलाई पनि पैसाको आवश्यकता छ, सरकारले यसमा हेरिदियो भने राम्रो हुन्छ’ यो नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप खेल्न जाँदै गर्दा गरेको गुनासो हो।
खेलकुद विकास नियमावलीमा विश्वकपमा पुग्ने खेलाडीलाई पुरस्कार दिने व्यवस्था छ। सोही नियमावलीअनुसार गत अक्टोबरमा ओमनमा भएको छनोट चरणको उपाधि जित्दै विश्वकपमा छनोट भएको नेपाली खेलाडीले जनही १९ लाख ५० हजार पाउँछन्। तर, पुरस्कार रकम ४ महिनासम्म पनि नपाएपछि रोहितले उक्त गुनासो गरेका हुन्। महिनाअघि छनोट भएको नेपाली टोलीले आईसीसी टी–२० विश्वकप खेलेर स्वदेश फर्किसक्यो। तर, छनोटबापत पाउनुपर्ने रकम अझै खेलाडीले पाउन सकेका छैनन्।
२०७९ सालमा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा बङ्गलादेशसँग हार्दै उपविजेता बन्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उपविजेता बनेको टोलीका खेलाडीलाई जनही ३ लाख दिने घोषणा गरे। तर, घोषणा भएको ३ वर्षभन्दा बढी समय हुँदासम्म पनि खेलाडीले पुरस्कार पाउन सकेका छैनन्।पाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ भन्छिन्, ‘सन् २०२२ मा बङ्गलादेशसँग हारेर उपविजेता बन्दाको पुरस्कार अहिलेसम्म पाएका छैनौँ। पटक–पटक परिषद्मा गएर सोध्दा पनि आर्थिक वर्ष क्लोज भयो भनेर भनिदिनुभयो। खेलाडीको पुरस्कारमा आर्थिक वर्ष क्लोजले केही फरक पार्दैन जस्तो लाग्छ मलाई।’
गत वर्ष भारतमा भएको प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरुष र महिला खो–खो टोली उपविजेता बन्यो। स्वदेश फर्किंदा भव्य स्वागत पनि भयो। तर, त्यसको १३ महिना बितिसक्दा पनि खेलाडीहरूले नियमावलीमा तोकिएको रकम पाएका छैनन्। नेपाल खो–खो सङ्घका अध्यक्ष प्रदीप महर्जन पटक–पटक मन्त्रालय धाए पनि अहिलेसम्म पुरस्कार नपाएको बताउँछन्।






