रियल खबर अनलाईन,फागुन २६, काठमाडौँ । फागुन २१ मा सम्पन्न आम निर्वाचनपछि केही दिन स्थगित जस्तै बनेको देशको दैनिक जनजीवन पुनः सामान्यतर्फ फर्किन थालेको छ। निर्वाचनका कारण बन्द वा प्रभावित भएका विद्यालय, कलेज, उद्योग, कलकारखाना तथा विभिन्न कार्यालयहरू सोमबारदेखि पुनः सञ्चालनमा आएका छन्।
निर्वाचनको तयारी, मतदान तथा सुरक्षा व्यवस्थापनका कारण देशका धेरै स्थानमा शैक्षिक संस्था र उद्योगधन्दा केही दिनका लागि बन्द गरिएको थियो। तर निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै अहिले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।
विद्यालय तथा कलेजहरूमा नियमित कक्षा सञ्चालन हुन थालेका छन् भने उद्योग तथा कलकारखानाहरूमा पनि कामकाज पुनः सुरु भएको छ। सरकारी तथा निजी कार्यालयहरूमा सेवाग्राहीहरूको चहलपहल बढ्न थालेको देखिएको छ।
यसैबीच, निर्वाचन परिणाम सार्वजनिक हुँदै जाँदा राजनीतिक दलहरू सरकार गठनको तयारीमा जुटिरहेका छन्। एकातिर नयाँ सरकार गठनको राजनीतिक छलफल तीव्र हुँदै गएको छ भने अर्कोतर्फ देशको आर्थिक, शैक्षिक तथा सामाजिक गतिविधिहरू पनि क्रमशः गति लिन थालेका छन्।
विश्लेषकहरूका अनुसार निर्वाचनपछि देशको जनजीवन सामान्य बनाउँदै विकास र आर्थिक गतिविधिलाई अघि बढाउनु अबको प्रमुख आवश्यकता भएको बताएका छन्। नागरिकहरूले पनि अब बन्ने नयाँ सरकारबाट स्थिरता, सुशासन र विकासको अपेक्षा गरेका छन्।






