रियल खबर अनलाईन | २० पुस, काठमाडौं — नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभर क्रियाशील सबै पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने आवश्यकता औंल्याएका छन्।
नेपाल पत्रकार महासंघ चितवन शाखाको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले पत्रकारहरूको पेशागत सुरक्षा, सम्मान र भविष्य सुनिश्चित गर्न सामाजिक सुरक्षा कोष अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्ने प्रक्रिया सुरु गरिसकेको जानकारी पनि दिए।
मन्त्री खरेलका अनुसार आगामी चरणमा निजी तथा अन्य सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई समेत क्रमशः सामाजिक सुरक्षा कोषमा समेट्ने दिशामा सरकार अघि बढिरहेको छ। “पत्रकारहरू लोकतन्त्रका मेरुदण्ड हुन्, उनीहरूको सामाजिक र आर्थिक सुरक्षा राज्यको दायित्व हो,” उनले स्पष्ट पारे।
उनले पत्रकार महासंघ, सञ्चार गृह र सरोकारवाला निकायहरूबीच सहकार्य गरी सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने वातावरण निर्माण गर्न आग्रह गरे।

यस अभिव्यक्तिसँगै पत्रकारहरूको हकहित र सामाजिक सुरक्षालाई लिएर सरकार गम्भीर देखिएको संकेत मिलेको छ भने यसले देशभरका पत्रकार समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।






