रियल खबर अनलाईन | माघ ३, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले निर्वाचन आयोगले पार्टीको आधिकारिकतासम्बन्धी विषयमा गरेको निर्णय पार्टी विधान र लोकतान्त्रिक अभ्यासको मर्मविरुद्ध भएको निष्कर्ष निकालेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको देउवा समूहको बैठकले निर्वाचन आयोगले यसअघि आफ्नै निर्णयबाट स्थापित गरिएका नजिर, कानुनी प्रक्रिया तथा देउवाकै नेतृत्वमा निरन्तर रूपमा गरिएका निर्णयहरूसँग सम्बन्धित आधिकारिक पत्राचार र प्रमाणहरूलाई बेवास्ता गर्दै एकपक्षीय निर्णय लिएको आरोप लगाएको हो।
बैठकपछि जारी गरिएको धारणा अनुसार आयोगले राजनीतिक दलसम्बन्धी कानुन र पार्टी विधानको मूलभावनालाई आत्मसात् नगरी निर्णय गरेको भन्दै गम्भीर आपत्ति जनाइएको छ। देउवा समूहले आयोगको यो निर्णयले पार्टीभित्र अन्योल सिर्जना गर्नुका साथै लोकतान्त्रिक अभ्यास, संस्थागत निरन्तरता र राजनीतिक स्थायित्वमा समेत नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ।
त्यसैगरी बैठकले निर्वाचन आयोगले यसअघि स्थापित कानुनी नजिर र व्यवहारलाई बेवास्ता गर्नु संवैधानिक निकायको विश्वसनीयतामाथि प्रश्न उठ्ने विषय भएको टिप्पणी गरेको छ। पार्टीको आधिकारिकता जस्तो संवेदनशील विषयमा निर्णय गर्दा सबै पक्षका प्रमाण, दस्तावेज र विगतका अभ्यासलाई ध्यानमा राख्नुपर्ने भए पनि आयोगले त्यसो नगरेको देउवा समूहको ठहर छ।
देउवा समूहले आगामी दिनमा पार्टीको वैधानिकता, विधानसम्मत प्रक्रिया र लोकतान्त्रिक मूल्यको रक्षा गर्न आवश्यक सबै राजनीतिक तथा कानुनी कदम चालिने संकेत पनि दिएको छ।






