🔴 पोखराको पर्यटनलाई नयाँ उचाइ दिने विश्वाससहित २७औँ पोखरा सडक महोत्सव भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।
रियल खबर अनलाइन ३ पुष । काठमाडौँ पोखराको पर्यटन, संस्कृति र खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित २७औँ संस्करणको पोखरा सडक महोत्सव यही वर्ष पुस १३ गते (डिसेम्बर २८) देखि पुस १७ गते (जनवरी १) सम्म पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भएको छ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराको आयोजनामा हुने महोत्सवको जानकारी आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो। महोत्सव फेवातालको लेकसाइड क्षेत्रअन्तर्गत करिब ३.५ किलोमिटर लामो सडक खण्डमा सञ्चालन हुनेछ।

रेबान पोखराका संयोजक बसन्त गौतमका अनुसार
👉 “सडकमा खाऔँ, सडकमा नाचौँ, सडकमा रमाऔँ”
भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको यस महोत्सवले पोखराको पर्यटन विकासका साथै खाना, संस्कृति र संगीतको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
यस वर्षको सडक महोत्सवलाई पोखरा महानगरपालिकाले घोषणा गरेको ‘भिजिट पोखरा इयर २०२५’ सँग सहकार्य गरेर आयोजना गरिने आयोजकले जानकारी दिएका छन्।
🎉 महोत्सवका मुख्य आकर्षणहरू
नेपालका विभिन्न जातजातिका सांस्कृतिक झाँकी र नृत्य
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकार समेटिएको फुड फेस्टिभल
चर्चित कलाकारहरूको सांगीतिक तथा कला प्रस्तुति
लोकदोहोरी कार्यक्रम
फेवातालमा डुंगा दौड र वेटर दौड
डोरी तान्ने खेल
पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रम
डोकुमेन्ट्री तथा फोटो प्रदर्शनी
महोत्सवको मुख्य प्रायोजक गोरखा ब्रुअरी प्रा.लि. रहेको छ भने
बोटलर्स नेपाल (तराई) लिमिटेड, द नेपाल डिस्टिलरी प्रा.लि., यती डिस्टिलरी प्रा.लि. र नेपाल टेलिकम सह–प्रायोजक रहेका छन्। यसैगरी, सिद्धार्थ बैंक महोत्सवको आधिकारिक बैंकिङ पार्टनर रहेको आयोजकले जनाएको छ।






