रियल खबर अनलाईन | २० पुस, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको दाबी गरेका छन्। ट्रम्पका अनुसार यो कारबाही ‘लागुऔषध आतंकवाद’ विरुद्धको युद्धको हिस्सा हो।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राष्ट्रपति मादुरो र उनकी पत्नी तथा प्रथम महिला सिलिया फ्लोरेसलाई देशबाहिर लगिएको बताएका छन्। उनीहरू हाल कहाँ छन् भन्नेबारे भने स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।
यस घटनाले अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो तरंग ल्याएको छ। ल्याटिन अमेरिकी क्षेत्रमा अमेरिकी सैन्य हस्तक्षेपलाई लिएर चर्को बहस सुरु भएको छ भने भेनेजुएलाभित्र सुरक्षा अवस्था थप संवेदनशील बन्ने अनुमान गरिएको छ।
घटनाबारे भेनेजुएलाको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। विश्व समुदाय भने यस घटनाक्रमलाई गम्भीर रूपमा नियालिरहेको छ।






