Advertisement
Advertisement
Advertisement

हिमाली क्षेत्रमा हिमपात भएमा दुई चरणमा निर्वाचन हुनसक्छ : प्रधानमन्त्री कार्की

रियल खबर अनलाइन २३ माघ, काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा सम्भावित हिमपातका कारण तोकिएको मितिमा निर्वाचन सम्पन्न हुन नसके दुई चरणमा निर्वाचन गराउन सकिने स्पष्ट संकेत दिनुभएको छ। हिजो नवलपुरमा आयोजित एक विशेष कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री कार्कीले २१ फागुनमा हिमपातका कारण मतदान प्रभावित हुने स्थानमा अर्को चरणमा निर्वाचन गराइने बताउनुभएको हो।

प्रधानमन्त्री कार्कीले सरकारको प्राथमिकता भने एकै चरणमा देशभर निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन गराउनु नै रहेको उल्लेख गर्नुभयो। तर प्राकृतिक बाधा र भौगोलिक कठिनाइका कारण यदि कुनै स्थानमा मतदान सम्भव नभए त्यसलाई वैकल्पिक चरणमा व्यवस्थापन गरिने उहाँको भनाइ थियो।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो,

Advertisement

“सरकार जसरी पनि निर्वाचन गराउँछ। यदि कतै मौसम, हिमपात वा अन्य कारणले रोकियो भने, त्यो स्थानमा अर्को चरणमा अनिवार्य रूपमा निर्वाचन हुन्छ।”

प्रधानमन्त्रीले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै कुनै पनि बहानामा नागरिकको मताधिकार खोसिन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। हिमाली क्षेत्रमा मतदान केन्द्रसम्म पुग्न कठिनाइ हुने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा, यातायात र प्रशासनिक तयारीलाई थप प्रभावकारी बनाइने जानकारी पनि दिनुभयो।

उहाँले निर्वाचन आयोग, सुरक्षा निकाय र सम्बन्धित मन्त्रालयहरूबीच निरन्तर समन्वय भइरहेको बताउँदै जनताको सहभागिता सुनिश्चित गर्ने दिशामा सरकार दृढ रहेको स्पष्ट पार्नुभयो।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्रीको यो अभिव्यक्तिले निर्वाचनप्रति सरकार गम्भीर रहेको र परिस्थितिअनुसार लचकता अपनाउने संकेत दिएको छ। हिमाली जिल्लामा हिउँदको मौसम चुनौतीपूर्ण हुने भएकाले सरकारको यो तयारीलाई सकारात्मक रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement