रियल खबर अनलाइन, ९ वैशाख, काठमाडौं। पछिल्लो समय बजारमा बढ्दो मूल्यवृद्धिले सर्वसाधारण जनता गम्भीर तनावमा परेका छन्। दैनिक उपभोग्य वस्तुदेखि यातायात भाडासम्मको मूल्य अकासिँदा जनजीवन कष्टकर बन्दै गएको छ।
पश्चिम एसिया (मध्यपूर्व) क्षेत्रमा उत्पन्न भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा तीव्र वृद्धि भएको छ। यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिएको छ, जहाँ इन्धन महँगिँदा ढुवानी खर्च बढेको छ र त्यसले खाद्यान्न, तरकारी तथा अन्य उपभोग्य वस्तुको मूल्यसमेत उकालो लागेको छ।
विशेषगरी न्यून तथा मध्यम आय भएका परिवारहरू सबैभन्दा बढी प्रभावित भएका छन्। भान्साको खर्च धान्न मुस्किल हुन थालेको गुनासो सर्वसाधारणले गरेका छन् भने सार्वजनिक यातायातको भाडा बढ्दा यात्रुहरू थप मारमा परेका छन्।
अर्थविद्हरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य अस्थिरता जारी रहँदा नेपालको अर्थतन्त्रमा अझ दबाब पर्न सक्ने देखिन्छ। उनीहरूले सरकारलाई मूल्य नियन्त्रण, आपूर्ति व्यवस्थापन र राहत कार्यक्रममार्फत नागरिकलाई सहुलियत दिन आग्रह गरेका छन्।






