रियल खबर अनलाईन | १८ पुस, काठमाडौं —नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गरिने स्पष्ट पारेका छन्। नियमित १५औँ महाधिवेशन आगामी वैशाख २८–३१ गते गर्ने प्रस्ताव बहुमतले पारित भए पनि विशेष महाधिवेशनको विषय भने अझै टुंगो नलागेको उनले बताएका छन्।
आज सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप गर्दै धारा ४३ को प्रयोगमार्फत महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पेश गरेको र उक्त प्रस्ताव बहुमतले पारित भएको थापाले जानकारी दिए। यद्यपि आफूहरू ४–५ जनाले फरक मत राखेको उनले उल्लेख गरे।
महामन्त्री थापाका अनुसार पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको मागसहित पत्र बुझाएको मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनै पर्ने प्रावधान छ।
“पुस २८–२९ तीन महिनाको अन्तिम म्याद हो, त्यसैले पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गरिनेछ,” थापाले स्पष्ट पारे।
विशेष महाधिवेशनको सम्भावनाले नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि थप तातेको छ भने आगामी दिनमा पार्टीभित्र शक्ति सन्तुलन र निर्णय प्रक्रियामा महत्वपूर्ण असर पर्ने संकेत देखिएको छ।






