रियल खबर अनलाईन | २० पुस, काठमाडौं — नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विषय झन् चर्किँदै गएको छ। कानुनविद्हरूले आफूलाई निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार पार्टीभित्र कसैलाई पनि नभएको स्पष्ट पारेका छन्।
शनिबार कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले परामर्शका लागि डाकेको छलफलमा सहभागी कानुनविद्हरूले विधानको व्यवस्था स्मरण गराउँदै बहुमत प्रतिनिधिबाट औपचारिक रूपमा माग गरिएको विशेष महाधिवेशन रोक्न वा टार्न नसकिने बताएका हुन्।
कानुनविद्हरूका अनुसार यो विषय व्यक्तिको इच्छा वा नेतृत्वको विवेकमा निर्भर नभई पार्टी विधान र आन्तरिक लोकतान्त्रिक अभ्याससँग प्रत्यक्ष जोडिएको छ। विशेष महाधिवेशनको माग वैधानिक रूपमा अघि बढिसकेपछि त्यसलाई अवरुद्ध गर्ने अधिकार कुनै पदाधिकारी वा निकायसँग नहुने उनीहरूको ठहर छ।
यस अभिव्यक्तिसँगै नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर देखिएको मतभेद थप स्पष्ट भएको छ भने आगामी दिनमा पार्टी राजनीतिमा निर्णायक मोड आउने संकेत देखिएको छ।






