रियल खबर अनलाईन | १५ माघ, काठमाडौं सिन्धुपाल्चोक–१ मा आगामी निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी चरम सीमामा पुगेको छ। प्रमुख दलदेखि उदाउँदै गरेका नयाँ राजनीतिक शक्तिसम्मको उपस्थितिले यो क्षेत्रलाई चुनावी दृष्टिले अत्यन्तै महत्वपूर्ण र चासोको केन्द्र बनाएको छ।
नेपाली कांग्रेसबाट प्रभावशाली नेता जंगबहादुर लामा, नेकपा एमालेबाट सरेश नेपाल, नेकपाबाट अनुभवी नेता माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट युवा तथा सुधारमुखी छविका भरतप्रसाद पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राममणि न्यौपाने चुनावी मैदानमा उत्रिएसँगै प्रतिस्पर्धा झन् कडा र रोचक बन्दै गएको हो।
यस निर्वाचनमा परम्परागत राजनीतिक शक्ति र नयाँ वैकल्पिक शक्तिबीचको टक्करलाई विशेष अर्थका साथ हेरिएको छ। विकास, सुशासन, रोजगारी, स्थानीय पूर्वाधार र जनजीविकासँग जोडिएका मुद्दाहरूलाई लिएर उम्मेदवारहरू घरदैलोदेखि आमसभासम्म सक्रिय देखिएका छन्। मतदाताहरू पनि विगतका कामको समीक्षा गर्दै आगामी दिनका लागि सक्षम र भरोसायोग्य नेतृत्व छान्ने तयारीमा जुटिरहेका छन्।
विशेषगरी, बदलिँदो राजनीतिक समीकरण, गठबन्धनको सम्भावना र जनमतको उतार–चढावले नतिजा कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न कठिन बनेको छ। युवा मतदाता, स्वतन्त्र सोच र नयाँ राजनीतिक धारप्रति आकर्षण बढिरहँदा परम्परागत दलहरूलाई पनि थप चुनौती थपिएको छ।
सिन्धुपाल्चोक–१ को यो प्रतिस्पर्धालाई राष्ट्रिय राजनीतिक परिदृश्यसँग जोडेर हेरिन थालेको छ। यही कारणले पनि यसपटक सिन्धुपाल्चोक–१ मा कसले बाजी मार्ला ? भन्ने प्रश्नले राजनीतिक वृत्तदेखि आम नागरिकसम्म व्यापक चासो पैदा गरेको छ।






