रियल खवर अनलाईन टेक्सास २७ बैशाख — नेपाली प्रतिभा अन्तर्राष्ट्रिय मञ्चमा चम्किने क्रम जारी रहेको छ। नेपाली चेली स्नेह रुपाखेती अमेरिकाको टेक्सासमा आयोजना हुने “Miss Supreme Austin 2026” प्रतियोगितामा सहभागी हुने भएकी छन्।
उनको सहभागिताले नेपाली समुदायमा उत्साह थपिएको छ भने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली युवतीहरूको बढ्दो उपस्थितिलाई थप मजबुत बनाएको छ। स्नेहका फोटो, भिडियो तथा सार्वजनिक प्रस्तुतीहरू हेर्दा उनी प्रतियोगितामा दमदार प्रस्तुति दिन सक्षम रहेको धेरैको विश्वास छ।
आत्मविश्वास, व्यक्तित्व र आकर्षक प्रस्तुतिका कारण उनी अहिले सामाजिक सञ्जालमा समेत चर्चामा आउन थालेकी छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली चेलीले आफ्नो प्रतिभा प्रस्तुत गर्दा सम्पूर्ण नेपालीलाई गर्व महसुस हुने प्रतिक्रिया आउन थालेको छ।
विशेषगरी नेपाली युवतीहरू विश्वस्तरमा आफ्नो पहिचान बनाउन सफल हुँदै गएको अवस्थामा स्नेह रुपाखेतीको यो यात्रा प्रेरणादायी मानिएको छ। प्रतियोगितामा उनको सफलताको कामना गर्दै धेरै नेपालीहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन्।
नेपाली प्रतिभा अब केवल देशभित्र सीमित छैन भन्ने उदाहरण फेरि एकपटक अमेरिकाको मञ्चबाट देखिन लागेको छ।






