चितवनमा हुने ऐतिहासिक महाधिवेशनको तयारी तीव्र …..
रियल खबर अनलाईन १३ जेठ, काठमाडौं। रास्वपाले आगामी ७ देखि ९ असारसम्म चितवनमा आयोजना हुने आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनबाट सभापतिमा रवि लामिछानेलाई पुनः सभापतिमा दोहोर्याउने तयारी गरेको छ।
पार्टीभित्रको छलफल तथा नेताहरूको संकेतअनुसार लामिछाने नै पुनः नेतृत्वमा आउने लगभग निश्चित जस्तै देखिएको राजनीतिक वृत्तमा चर्चा छ। रास्वपाले छोटो समयमै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति बनाएको अवस्थामा हुन लागेको यो पहिलो महाधिवेशनलाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ।
महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व, संगठन विस्तार, आगामी राजनीतिक रणनीति तथा वैचारिक दिशा तय गरिने बताइएको छ। चितवनमा हुने कार्यक्रमका लागि देशभरबाट प्रतिनिधि तथा कार्यकर्ताहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।
रवि लामिछानेको नेतृत्वमा रास्वपाले वैकल्पिक राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गर्ने प्रयास गरिरहेको छ। समर्थकहरूले उनलाई “नयाँ पुस्ताको नेतृत्व” को प्रतीक मानिरहेका छन् भने विपक्षीहरूले पार्टीको संगठनात्मक स्थायित्वमाथि प्रश्न उठाइरहेका छन्।
यता महाधिवेशन नजिकिँदै जाँदा रास्वपाभित्र उत्साहपूर्ण माहोल देखिएको छ। सामाजिक सञ्जालमा पनि “फेरि रवि” अभियान चर्चामा आउन थालेको छ। अब महाधिवेशनले पार्टीको आगामी राजनीतिक यात्रा कुन दिशातर्फ लैजान्छ भन्ने विषयलाई धेरैले चासोका साथ हेरिरहेका छन्।






