रियल खबर अनलाइन | ६ पुष, काठमाडौं – नेपाल सरकारले चक्रीय कोषमार्फत सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ, जसबाट करिब ३८ हजार सहकारी पीडित लाभान्वित हुने भएका छन्।
सरकारको यो योजनाअनुसार १ लाख रुपैयाँसम्म बचत गरेका साना बचतकर्ताहरूले आफ्नो पूरै बचत रकम फिर्ता पाउने व्यवस्था गरिएको छ। लामो समयदेखि सहकारी समस्याले पीडित बनेका हजारौं बचतकर्ताका लागि यो निर्णयलाई ठूलो राहतको रूपमा हेरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले साना बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गर्न चक्रीय कोषको अवधारणा अघि सारेको हो। मन्त्रालयको प्रस्तावअनुसार उक्त कोषमा सरकारले प्रारम्भिक रूपमा २ अर्ब रुपैयाँ जम्मा गर्ने र सो रकम कार्यविधि मार्फत साना बचतकर्तालाई चरणबद्ध रूपमा वितरण गर्ने योजना बनाइएको छ।
सरकारको यो कदमले सहकारी क्षेत्रमा देखिएको संकट न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ भने पीडित बचतकर्ताहरूमा न्याय र भरोसा फर्किने अपेक्षा गरिएको छ।
🔴 सहकारी क्षेत्रमा सुधार र बचतकर्ताको विश्वास पुनःस्थापना गर्ने दिशामा सरकारको यो निर्णयलाई महत्वपूर्ण कदमका रूपमा लिइएको छ।






