Advertisement
Advertisement
Advertisement

डेढ लाख निर्वाचन प्रहरी, अर्को साताबाट फिल्डमा

रियल खबर अनलाईन १९ माघ, काठमाडौं।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरकारले व्यापक सुरक्षा रणनीति अघि सारेको छ। त्यसअन्तर्गत डेढ लाखभन्दा बढी निर्वाचन प्रहरी छनोट गरी परिचालनको तयारी अन्तिम चरणमा पुगेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी छनोट गरिएको छ। जसअनुसार नेपाल प्रहरीबाट १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरी बलबाट १५ हजार १ सय १० जना निर्वाचन सुरक्षामा खटिनेछन्। उनीहरूलाई ४० दिनको कार्यावधि तोकिएको छ।

निर्वाचन मिति नजिकिँदै जाँदा सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आइतबारदेखि नै छनोट भएका निर्वाचन प्रहरीलाई सम्बन्धित युनिटमार्फत तालिम दिन सुरु गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आ–आफ्ना संरचनाअनुसार निर्वाचन सुरक्षा, मतदाता तथा मतदान केन्द्रको सुरक्षा, सम्भावित जोखिम न्यूनीकरण र आकस्मिक परिस्थितिको सामना गर्ने विषयमा विशेष तालिम सञ्चालन गरिरहेका छन्।

Advertisement

सुरक्षा निकायका अनुसार निर्वाचन अवधिभर मतदान केन्द्र, मतपेटिका ढुवानी, मतगणना स्थल तथा संवेदनशील क्षेत्रहरूमा कडाइका साथ सुरक्षा व्यवस्था मिलाइनेछ। विगतका निर्वाचन अनुभवलाई आधार मानेर यसपटक थप प्रभावकारी र योजनाबद्ध सुरक्षाको खाका तयार गरिएको बताइएको छ।

निर्वाचनलाई प्रभावित पार्न सक्ने अवाञ्छित गतिविधि, हिंसा, डर–त्रास तथा अव्यवस्थालाई रोक्न सुरक्षाकर्मीलाई चरणबद्ध रूपमा फिल्डमा परिचालन गरिनेछ। अर्को सातादेखि नै निर्वाचन प्रहरी देशभरका विभिन्न जिल्लामा खटिन सुरु गर्ने तयारी भएको छ।

सरकार र सुरक्षा निकायले निर्वाचन सफल बनाउन सबै पक्षसँग सहकार्य गर्दै नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। सर्वसाधारण मतदाताले निर्भीक रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्न व्यापक सुरक्षा तयारी गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement