रियल खबर अनलाइन १९चैत्र, काठमाडौं। प्रतिनिधिसभा निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आज (बिहीबार) देखि सुरु हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको पहिलो बैठक आज दिउँसो २ बजेका लागि आह्वान गर्नुभएको हो।
नयाँ जनादेशसँगै सुरु हुन लागेको यस अधिवेशनलाई अत्यन्त महत्वपूर्ण रूपमा हेरिएको छ। आजको पहिलो बैठकले सांसदहरूको शपथ, कार्यसूची निर्धारण लगायत प्रारम्भिक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।
यसैबीच, प्रतिनिधिसभाको सभामुख चयनका लागि निर्वाचन आइतबार हुने तय गरिएको छ। सभामुखको चयनसँगै संसद्को कार्य सञ्चालनले थप गति लिने विश्वास गरिएको छ।
राजनीतिक दलहरूबीच सहमति वा प्रतिस्पर्धाको आधारमा सभामुख चयन हुने भएकाले आगामी केही दिन राजनीतिक रूपमा निकै चासोपूर्ण रहने देखिएको छ। नयाँ सरकार गठन, विधेयक प्रस्तुत तथा महत्वपूर्ण नीतिगत निर्णयहरूका लागि पनि यो अधिवेशन निर्णायक बन्ने अनुमान गरिएको छ।
संघीय संसद्को पहिलो अधिवेशनले देशको राजनीतिक दिशा तय गर्ने भएकाले आम नागरिकको ध्यान यतिबेला संसद् भवनतर्फ केन्द्रित भएको छ।






