रियल खबर अनलाइन | ९ पुस, काठमाडौं — हास्य कलाकारको रूपमा चिनिएका मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले यसपटक दर्शकलाई नयाँ स्वाद दिएका छन् । गोरखाबाट उदाएका बल्छी धुर्बेले शीर्ष भूमिका निभाएको फिल्म ‘गोबर गणेश’ को शीर्ष गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ, जसमा उनले अभिनय मात्र होइन, गायनमा पनि आफ्नो क्षमता देखाएका छन् ।
प्रख्यात संगीतकार बाबुल गिरीको संगीत रहेको यो गीतमा बल्छी धुर्बे स्वयंको आवाज रहेको छ । गीतको लय र शब्दले फिल्मको कथावस्तु र चरित्रको मनोविज्ञानलाई सजीव ढंगले प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ ।
कमेडी कथामा आधारित फिल्मका लागि तयार गरिएको यो शीर्ष गीतले सबै क्षेत्रमा अब्बल देखिए पनि पढाइमा कमजोर पात्रप्रति व्यङ्ग्य गर्दै समाजको एउटा यथार्थ चित्रण गर्छ । निर्माताहरूका अनुसार गीतले दर्शकलाई हँसाउने मात्र होइन, कथासँग गहिरो रूपमा जोड्ने विश्वास गरिएको छ ।
कलाकार बल्छी धुर्बेको यो नयाँ अवतारले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाउने अपेक्षा गरिएको छ ।






