सत्ता समीकरण फेरिन सक्ने संकेत, राजनीतिक माहोल तातियो…
रियल खबर अनलाईन७ जेठ, काठमाडौं।देशको राजनीतिक वृत्त फेरि तातेको छ। नेपाली कांग्रेश र नेपका एमाले प्रदेश सरकार फेरबदलको तयारीमा सक्रिय बनेका छन्। पछिल्लो राजनीतिक समीकरण, सत्ता साझेदारी र आन्तरिक छलफल तीव्र भएसँगै विभिन्न प्रदेशमा सरकार परिवर्तनको चर्चा चुलिएको हो।
स्रोतका अनुसार कांग्रेस र एमालेबीच प्रदेश सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँट तथा नयाँ शक्ति सन्तुलनबारे लगातार संवाद भइरहेको छ। विशेषगरी केही प्रदेशमा वर्तमान गठबन्धनप्रति असन्तुष्टि बढेपछि नयाँ समीकरण निर्माणको प्रयास तीव्र भएको बताइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार केन्द्रको सत्ता समीकरणको प्रभाव अब प्रदेश राजनीतिमा स्पष्ट रूपमा देखिन थालेको छ। दलहरू आगामी रणनीति, शक्ति सन्तुलन तथा आगामी चुनावलाई लक्षित गर्दै नयाँ राजनीतिक चालमा अघि बढिरहेका छन्।
यता विपक्षी दलहरूले भने सत्ता टिकाउन र भागबन्डा मिलाउन मात्रै फेरबदलको खेल भइरहेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा पनि “जनताको मुद्दा भन्दा सत्ता राजनीति हाबी” भएको भन्दै चर्को प्रतिक्रिया देखिन थालेको छ।
यदि कांग्रेस–एमालेबीच सहमति अन्तिम चरणमा पुगेमा आगामी केही दिनमै केही प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रिपरिषद् परिवर्तन हुने सम्भावना रहेको राजनीतिक वृत्तमा चर्चा छ।






